Muna Bhusal

Politician, Social worker.

Tuesday, December 15, 2020

विपन्न बिमारीहरू लाई आर्थिक सहयोग हस्तान्तरण

December 15, 2020 0

मङ्सिर २९, पर्वत,  कुस्मा नगरपालिका वार्ड नं ८, चुवा निवासी तिलक परियारका छ वर्षीय छोरा प्रमोद  परियार दुवै मिर्गौला फेल भई कान्ति बाल अस्पतालमा उपचार भइरहेको र वहाँ हरुलाई आर्थिक सहयोगको आवश्यकता परेको कुरा जानकारीमा आएकोले पर्वत सेवा समाज नेपालले गरेको नगद दश हजार सहयोग हस्तान्तरण भयो



कुस्मा नगरपालिका वार्ड नं ३ दुर्लुङ्ग निवासी टिका प्रसाद शर्मा कि ४४ वर्षीय श्रीमती अमृता शर्मा लामो समय देखि बिरामी भई उपचाररत रहनु भएको र वहाँको नियमित डायलसीस को लागि पर्वत सेवा समाज नेपालले गरेको आर्थिक  सहयोग बिरामीका श्रीमान् टिका प्रसाद शर्मा लाई हस्तान्तरण भयो



फलेवास नगरपालिका वार्ड नं ३ शङ्कर पोखरी निवासी ४५ वर्षीय लक्ष्मी जैसी तिवारी मङ्सिर ७ गते रुखबाट लडेर मेरुदण्डमा समस्या भएपछि पोखरा हरियो खर्क अस्पतालमा उपचार भइरहेको र आर्थिक सहयोग आवश्यक रहेकोले पर्वत सेवा समाज नेपालले उपलब्ध गराएको आर्थिक सहयोग हस्तान्तरण भयो



पर्वत जिल्ला ,फलेवास नगरपालिका वार्ड नं ११, पाङराङ निवासी सेते नेपालीको छोरा गणेश नेपाली (सुके ) लाई पक्ष घात भएको र उहाँको आर्थिक अवस्था एकदम कमजोर भएको कारण उपचार गर्न नसकिरहेको अवस्थामा पर्वत सेवा समाज नेपाल द्वारा रु १० हजार सहयोग हस्तान्तरण गरिएको छ ।


विहादी गाउँपालिका वडा न ३ रानिपानी निवासी गोमा पराजुली ब्रेन ह्याम्बरेज
 भएर लामो समय उपेन्द्र देवकोटा मेमोरियल हस्पिटल काठमाडौँमा राखी उपचार गराइरहेको र हाल नेचर केयर हस्पिटल भरतपुरमा उपचाररत हुनुहुन्छ । यसरी उपचार गर्दै गर्दा आर्थिक रूपले कमजोर रहेकाले उपचार गर्न खर्चको अभाव भएको । अहिले सम्म २९/३० लाख खर्च भएको । पर्वत सेवा समाज नेपालको तर्फबाट रु दस हजार सहयोग हस्तान्तरण भएको छ ।



 

 

सर्वसत्तावादी सोचका विरुद्धको शानदार, सभ्य र भव्य प्रदर्शनमा सहभागिता जनाउँदै

December 15, 2020 0

 


फेरी, एक पटक नेपालमा इतिहास दोहोरिएको छ। शक्ति र सत्ताको पोखरीमा डुबुल्की मारेको हिजोका सर्वहाराहरू समेत सम्मिलित कम्युनिस्ट सर्वसत्तावादी सोचका विरुद्ध लाखौँ लाख नेपाली जनताहरू स्वतःस्फूर्त सडकमा ओर्लिएर खबरदारी गरेका छन्।


प्रतिपक्ष भनेको सडकमा कुदिरहेको सवारी साधन जलाउने, निजी तथा सार्वजनिक कम्पाउन्डका रेलिंगहरु तोड्ने, आगजनी र हुलदङ्गा गर्ने होइन, शान्तिपूर्ण ढङ्गबाट आफ्नो संविधान प्रदत्त अधिकारको सदुपयोग गर्दै लोकतान्त्रिक तबले अन्याय, अत्याचार,  भ्रष्टाचार र सर्वसत्तावाद को  विरुद्ध नेपाली जनताहरूको आवाजहरूको प्रतिनिधित्व गर्दै त्यसको प्रतिबिम्बहरू सडक मार्फत बुलन्द पार्ने हो भन्ने पाठ नेपाली राजनीतिमा स्थापित भएको छ।

 

सात दशक लामो नेपाली जनताहरूको निरन्तरको सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको रक्षाको निम्ति विधिमा आधारित शासन व्यवस्था, कानुनी राज्यको सुनिश्चितता र सबै खाले असमानताहरुका विरुद्ध नेपाली काँग्रेस कोही कसैसँग कहिल्यै सम्झौता गर्दैन र नेपालमा काँग्रेस रहुन्जेल कसैले प्रजातन्त्रको बिरुद्ध कुनै षडयन्त्र गर्न सक्दैन भन्ने संदेश आजको विशाल जन सहभागिताले प्रमाणित गरेको छ।

जय नेपाल,

मुना भुसाल



















    

 

 

पर्वतमा स्वास्थ्य सामाग्री वितरण

December 15, 2020 0

पर्वत, मङ्सिर। विश्वभर कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण दर बढ्दो छ । पर्वतमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेको समयमा  पर्वत जिल्लाका विभिन्न गाउँ पालिकामा आफै पुगेर स्वास्थ्य  सामाग्री वितरणमा गर्ने कोसिस गरेकी छु ।   सोमबार पर्वतको पैयुँ गाउँपालिका,महाशिला गाउँपालिका र बिहादी गाउँपालिकाका २ वटा वडामा मास्क वितरण गरियो  । गाउँ पालिकाका प्रत्येक वडाका वडा अध्यक्ष मार्फत सामाग्री वितरण गर्न समन्वय गर्दा वितरणमा सहज भएको महसुस गरेकी छु  । यस पटक प्रत्येक वडामा ५ सयका दरले मास्क वितरण गरिएको छ

संसारभर देखिएको आजको जटिल परिस्थिति सँग जुध्दै कोरोना भाइरस बच्न र सबैलाई सुरक्षित राख्ने उद्देश्यले निःशुल्क मास्क वितरण अभियान सुरु गरिएको हो  । विश्वव्यापी रूपमा महामारीका रूपमा फैलिरहेको भाईसर वाट बच्नका लागि विशेष सावधानीहरू अपनाउनु नै उत्तम उपाय हो त्यसैले कोरोना भित्री सकेपछि भन्दा पनि भित्रिनै नदिनका लागि सबैले आ आफ्नो तर्फबाट सचेत हुन जरुरी रहेको कुरा हामी सबैले बुझ्नु अति आवश्यक हुन्छ। फलेवास नगरपालिका र विहादी गाउँपालिकाका  सबै वडाहरूमा पुगेर स्वास्थ्य  सामाग्री हस्तान्तरण गरिएको छ भने अब क्षेत्र नम्बर १ का सबै वडामा स्वास्थ्य सामाग्री प्रत्येकको घर घरमा पुर्याउने  लक्ष्य रहेको छ ।

जनताको स्वास्थ्य सुरक्षा आजको प्रमुख आवश्यकता भएको अवस्थामा स्वास्थ्य सामाग्री वितरणको यो अभियानमा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार, समाजसेवी तथा नेपाली काँग्रेस महासमिति सदस्य श्री हरीबोल भण्डारी ज्यु ले उपलब्ध गराउनुभएको चार हजार थान मास्क पनि यसै कार्यक्रम अन्तर्गत वितरण गरिएको छ । म आदरणीय हरिबोल भण्डारी ज्यु सँग आगामी दिनहरूमा पनि सहकार्य र उचित सल्लाह सुझावको अपेक्षा राख्दै वहाँ प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।

मुना भुसाल  


 

Saturday, July 13, 2019

झुट बोल्ने आमा म

July 13, 2019 0


दिपिका भुसाल;
छोरी, आज तिम्रो जिन्दगीको सबैभन्दा ठुलो उत्सवको दिन हो । तर म त्यो उत्सवमा प्रत्यक्ष सहभागी हुन पाइन किनकि तिम्रो र मेरो बिचमा केही थान बाध्यताका समुन्द्रहरू तेर्सिएका छन् लम्पसार परेर र केहिथान परिस्थितिका पहाडहरू ठडिएका छन् बाधक बनेर । त्यसैले छोरी तिम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिनमा पनि म तिमी सँगसँगै हुन पाइन मलाई माफ गर ।

समयले यसरी ठग्छ भन्ने मैले कल्पना नै गरिन । अव परिस्थितिहरू सुधारिँदै थिए । अव त समाजले आयस्ता हेरेर पनि हाम्रो अवस्था उकासिँदै गएको देखिरहेको थियो । जे होस दु:ख सुख हामी स्थापित हुँदै गएका थियौँ अनि समयले तिमीलाई हुर्काउँदै लगेको थियो र मेरो अनुहारमा केहिथान धर्साहरू थप्दै गरेको थियो ।

जीवनचक्रको यो सुन्दरता म शब्दमा बयान गर्न सक्दिन । ऐनामा म आफैलाई म आफैले मेरै आमा जस्तै देख्न थाल्नु र मेरी छोरी तिमीलाई म जस्तै देख्न थाल्नुउमेरको यस्तो पडाव हो जहाँ आफ्नो अनुहारमा थपिँदै गएका रेखाहरूको पिरलो हुँदैन रहेछ । छोरीको अनुहारमा चढ्दै गरेको रङ्ग देखेपछी त्यही अनुहारमा आफ्नो खुसी भेटिँदो रहेछ । त्यसरी नै मेरी छोरी मेरो प्रतिबिम्ब हुन भनेरै खुशी भईदो रहेछ । हो, म त्यही छायामा रमाउन चाहने आमा हुँ ।

अहिले आफैलाई सम्झन्छु । आफ्नै परिस्थिति सम्झन्छु । म नै सबैभन्दा धेरै झुट बोल्ने आमा हुँ जस्तो लाग्छ छोरी । तिम्रो अगाडी झुटको खहरे जो बगाएकी छु मैले । तोते  बोलीमै तिमीले कहाँ जानेँ मम्मी ? भनेर सोध्दा नै पहिलो झुट बोलेर ‘बेलुकी नै फर्किन्छु’ भनेर मेरो झुटको सुरुवात भएको थियो ।

त्यसपछि तिम्रा प्रश्नहरू कहिले आउने? भएर बदलिए । मैले भोलि पर्सी, अर्को महिना वर्ष, भन्दै टार्दै गएँ म झुट माथि झुट बोल्दै गएँ र तिमीले पत्याउँदै गयौ । फर्कने बाचा पुरा गर्न म दुई तिन पटक तिमीलाई भेट्न आएकी थिएँ नि छोरी । तिमीलाई सम्झना होला । त्यो बेलामा पनि म झुट नै बोलेँ । अव नजानुस् है मम्मीभनेर तिमीले मेरो धोतीको फेर समातेर अनुनय विनय गर्दा मैले अव त जाँदै जान्न भनेर ढाँटेँ । मम्मी फेरी फर्कन्छे भन्ने बुझेरै पनि तिमी ढुक्क भएझैँ गर्थेउ र मेरो काखमा निदाउँथ्यौ । हो त्यही तिमी निदाएको मौकामा म फेरी झिटी गुन्टा बोकेर जहाज चढ्दथेँ । हेर त म कति झुट बोलेँ ।

समय फेरियो तर तिम्रो कहिले आउने भन्ने प्रश्न फेरिएन । तिम्रो एसईई, तिम्रो एघार कक्षा, तिम्रो बाह्रको फाइनल हुँदै तिमी विदेश जाने तयारीको बेलामा भन्दै मेरा जबाफहरू मात्रै फेरीदैं गए । तर पनि तिम्रा जुन जुन महत्त्वपूर्ण समय थिए मैले टाढैबाट आशीर्वाद दिन बाहेक केही गर्न सकिन छोरी ।

तिम्रो बिहेमा त पक्का आउँछुयो प्रसङ्ग त उठेकै थिएन । तिमीले प्रश्न सोध्नु र मैले अर्को झुटो जवाफ दिनु अगाडी नै मैले म फर्कने निर्णय गरेकी थिएँ । मलाई थाह थियो यो बनावटी जवाफ दिने समय होइन । मेरी छोरीको जिन्दगीको सबैभन्दा ठुलो र महत्त्वपूर्ण दिन हो । मैले पनि म जीवितै हुनुको प्रमाण पेस गर्ने दिन हो । त्यसैले साँच्चै म फर्कने निर्णय गरेँ र टिकट समेत काटेँ ।

छोरी बेहुली बनेको हेर्ने रहर कसलाई हुँदैन र बाबा । छोरी अन्माउने बेलामा काखमा च्यापेर छाँद हालेर रुने मन कसको हुँदैन र बाबा । आफूले सिकेका दुख सुखका कुरा प्रत्यक्ष सिकाएर डोली चढाउने रहर कसलाई हुँदैन र बाबा । बाह्रवर्ष सम्म फुट्न नसकेको भक्कानो फोरेर पोलिरहेको छातीलाई अलिकति शीतल बनाउने आशा त मेरो पनि थियो बाबु तर परिस्थितिले त्यस्तो कहाँ हुन दियो र छोरी । म फेरी झुट बोलेँ तिमी सँग । म तिमी बेहुली बनेर अन्मिदा पनि तिमी संगै हुन पाइन, एक्लै कुनामा बसेर रुन्छु अनि सम्झन्छु म जति झुट बोल्ने आमा को होला यो संसारमा ।

हुन त यो उत्सवको समय हो । मेरो छोरी, यो तिम्रो बिहेको दिन हो ।  यहाँ मैले अरू प्रसङ्गका कुरा लेखेर म आउन नपाएको कारण प्रष्ट्याउँन हुन्छ कि हुँदैन मलाई थाहा छैन । तर पनि नलेखी नहुने कुरा छुट्यो भने ‘छोरीको बिहेमा पनि आउन नसक्ने आमा’ भनेर मलाई समाजले गाली गर्ला त्यसैले प्रसङ्ग बाहिरका केही कुरा लेख्छु त्यो पढेर तिमीले आमाको समस्या बुझ है । 

समयले यो पटक पनि धोका नै दियो छोरी । जसको सेवा गरे बापत हामीले पाउँदै आएको सहारामा हामीहरू यहाँ सम्म आइपुगेका थियौँ, तिनै हाम्री रोजगारदाता आमाले हामीलाई सदाको लागि छोडेर परलोक हुन पुगिन । एक हप्ता मात्र उनलाई केही नभइदिएको भए म आज तिम्रो शृंगार गरिरहेको हुने थिएँ होला । तिम्रो सारीको फुर्को मिलाई रहेकी हुने थिएँ होला । तिम्रो हातमा चुरा लगाई रहेकी हुने थिएँ होला । तिमी हाँस्दा म मुस्कुराइरहेकी रहेकी हुने थिएँ होला र तिमी पिल्पिलाउदा धत् लाटी भनेर हकारीरहेकी हुने थिएँ होला ।

तर फेरी ठग्यो हामीलाई यो परिस्थितिले छोरी । ती रोजगारदाता जसले मलाई यो देशमा बसेर तिमीहरूको लालन पालनको लागि सामल जुटाउने बाटो दिएकी थिइन ती आमा समान दाता जसले दिएको जागिर बाट हामी अहिलेको अवस्थामा छौं उनै मान्छे संसारबाट बिदा हुनु त्यो पनि यस्तो समयमा ।,
मेरो जागिर अक्करे भिरमा फलेको तरकारी जस्तो भयो छोरी । टिप्न पनि नसकिने छोड्दा के पकाउने भन्ने समस्या हुने । जागिर छोडेर फर्कौँ फेरी यो देशमा आउने बाटो बन्द हुन्छ, यता फर्कने बाटो बनाएर नेपाल आउँ त्यसको लागि लामो समय लाग्छ । अगाडिका पहाड हेर्छु, ती पहाड छिचोल्न त पर्छ नै, त्यसको लागि यहाँको जागिर नभई सम्भव छैन । आज सम्म जति सङ्घर्ष गरियो त्यो भन्दा बढी नै सङ्घर्ष गर्नै वाकी देखिन्छ ।

तिम्रो बिहे भन्दा मेरो जागिर महत्वपुर्ण कुनै हालतमा होइन छोरी तर केहि त्यस्ता आवस्यकताहरु पुरा हुन बाकीनै छन् जुन मैले अझै केहिबर्ष मेहनत नगरे अधुरै रहन्छन । तिमी ज्वाइँको हात समातेर मलाई भेट्नको लागि माइत आउने यौटा सानो संसार तयार गर्नु छ । बहिनी सानै छे, उसलाई पनि पढाउनु छ, बढाउनु छ र स्थापित गराउनु छ । तिमी त बरु कहाँ जाने मम्मी भनेर सोध्न सक्ने भएकी थियौ म हिँड्ने बेलामा । बैनी त निदाई रहेकी थिई । आज तिम्रो बिहे भयो, यही दिन यस्तै समय सानीको पनि आउँछ, ती सबै जिम्मेवारी हरूले मलाई जहाज चढ्नबाट रोके सानु मलाई आशा छ तिमीले बारम्बार झुट बोल्ने यो आमालाई फेरी एक पटक माफ गर्ने छौ ।

उही तिम्री झुट बोल्ने आमा




Saturday, March 30, 2019

दुबई कार्यक्रमका फोटोहरु

March 30, 2019 0
अन्तराष्ट्रिय पर्वत समाजको यो कार्यक्रममा उपस्थित भएर आफ्ना कुराहरु राख्न पाउदा मलाइ निकै गौरवान्वित महसुस भईरहेको छ । संस्था गठन हुदाका बखत प्रथम अधिवेशन चलिरहेको अवस्थामा सिंगो हलले एकमत रुपमा अन्तराष्ट्रिय पर्वत समाजको नेपाल प्रतिनिधि भनेर मेरो नाम  घोषणा गर्दा यो संस्थाको कामको लागि म  दिलोज्यान ले लागि पर्नेछु भनेर मैले प्रण गरेकी थिए । त्यसरी काम गर्ने अवशर प्रदान गर्नुभएको मा संस्था प्रति आभारी छु । नेपाल प्रतिनिधिको रुपमा मैले कति काम गर्न सकें त्यो कुरा हाम्रो कार्यसमिति र समाजले मुल्यांकन गर्ने कुरा हो । मैले मेरोतर्फबाट समय मिलाउदै र परिस्थितिहरु संग जुध्दै आफ्नो सतप्रतिसत दिने प्रयत्न गरेकी छु ।






Sunday, March 3, 2019

अन्तराष्ट्रिय पर्वत समाजको दुबई भेला

March 03, 2019 0

यस सभाका सभापति महोदय, सम्पूर्ण नेपाली समुदायको आस्थाको केन्द्र एबं हाम्रो मातृभूमिको प्रतिनिधि संस्था युएई  स्थित नेपाली दुतावास’का महामहिम राजदुत महोदय, गैह्र आवासीय नेपाली संघ एनआरएनका केन्द्रीय अध्यक्ष महोदय, अन्तराष्ट्रिय पर्वत समाज नेपालमा एकतावद्द हुनुभएका पर्वत सेवा समाजका  सम्पूर्ण सामाजिक अभियन्ता मित्रहरु साथै आफ्नो र आफ्ना प्यारा प्यारा सन्तानहरुको भविष्यको रुपरेखा बनाउन प्रवासी भूमिमा अहोरात्र मेहनत गरेर रेमिट्यान्स पठाई हाम्रो देश धान्ने अभिभारा आफ्नो काँधमा उठाईरहनु भएका मेरा परदेशी दाजुभाई दिदीबहिनी हरुमा म मुना भुषालको तर्फबाट न्यानो अभिवादन स्विकार्नुहोला ।

समाजसेवा या मानवसेवा हामी नेपालीको अन्तरहृदय बाट पलाउने यौटा स्वस्फुर्त भावना प्रेरित क्रियाकलाप हो । आत्माले आदेश नदिएसम्म कहिल्यै पनि सेवामुखी काम गर्न सकिदैन । हामी आम नेपालीहरुको आत्मा सेवा प्रति बढी नै लालायित छ । अझ प्रवासमा रहनुभएका तमाम मित्रहरुको समाजसेवा प्रतिको यो झुकाव देख्दा म नतमस्तक हुने गरेकी छु ।  

अन्तराष्ट्रिय पर्वत समाजको यो कार्यक्रममा उपस्थित भएर आफ्ना कुराहरु राख्न पाउदा मलाइ निकै गौरवान्वित महसुस भईरहेको छ । संस्था गठन हुदाका बखत प्रथम अधिवेशन चलिरहेको अवस्थामा सिंगो हलले एकमत रुपमा अन्तराष्ट्रिय पर्वत समाजको नेपाल प्रतिनिधि भनेर मेरो नाम  घोषणा गर्दा यो संस्थाको कामको लागि म  दिलोज्यान ले लागि पर्नेछु भनेर मैले प्रण गरेकी थिए । त्यसरी काम गर्ने अवशर प्रदान गर्नुभएको मा संस्था प्रति आभारी छु । नेपाल प्रतिनिधिको रुपमा मैले कति काम गर्न सकें त्यो कुरा हाम्रो कार्यसमिति र समाजले मुल्यांकन गर्ने कुरा हो । मैले मेरोतर्फबाट समय मिलाउदै र परिस्थितिहरु संग जुध्दै आफ्नो सतप्रतिसत दिने प्रयत्न गरेकी छु ।

समाजका पदाधिकारी र हाम्रा जनप्रतिनिधि हरुको बिचमा हुन गईरहेको यो अन्तरक्रियाले हाम्रो समाजलाई भविष्यमा कसरि काम गर्ने भन्ने बारेमा राम्रो मार्ग निर्देश गर्ने छ भन्ने कुरामा म बिश्वस्त छु ।

अहिले सम्म भएका काम हरुमा समाजले खेलकुदको क्षेत्रलाइ प्रथामिकतामा राखेर कभर्डहलको निर्माण गरेको बिषय सह्रानीय छ । युवा वर्गको चाहानालाई मध्यनजर राख्दै उनीहरुलाई उत्प्रेरणा दिने उद्देश्यले समाज बिकाशमा लगानी गर्नु अत्यन्तै फलदायी कुरा हो । यसले समाजलाई नयाँ कुरा प्रदान गरेको छ ।

त्यो भन्दा पनि अत्यन्तै सेवाभावले प्रेरित भई निर्माण गरिएको प्रसुती गृहहरुको आवश्यका र त्यो प्रसुति गृह बाट प्रवाह हुने सेवालाई म यहाँ  शब्द हरुमा ब्यक्त गर्न सक्दिन । असुरक्षित् प्रेग्नेंसी बाट गुज्रिरहेका तमाम आमा र नवजात शिसुहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै हाम्रो संस्थाले सुरु गरेको यो अभियानको हाम्रो स्थानीय समाजले मुक्त कण्ठले प्रसंसा गरेको छ अनि हाम्रो काम प्रति नतमस्तक हुदै सह्राहना गरेको छ । अब प्रसुतीगृह संग पायक परेका ठाउहरुका आमाहरुले सुरक्षित् प्रसुती सेवा प्राप्त गर्नेछन र अब जन्मने नवजात शिशुहरू सुरक्षित् रुपमा हाम्रो काख सम्म आइपुग्नेछन । यो यौटा पुण्यको कामपनि हो र संस्थाले यस्ता कार्यहरुलाई निरन्तरा दिनेछ भन्ने कुरामा म बिश्वस्त पनि छु ।

दैबी बिपत्ति र प्रकोप पिडितहरुलाई  अल्पकालीन राहत र सहयोग बाट माथि उठेर संस्थाले पहिरो पिडित जनतालाई  दिर्घकालिन रुपमा स्थापित गर्नको लागि पिडित दलित बस्तीमा दस वटा आवाश निर्माण गर्यो त्यो कार्यको पनि सबै पक्षबाट सह्राहना भएको छ । उद्दार भएका जनताहरुको आशिर्वाद बाट आगामी दिनमा पनि हामीले यस्तै कामहरु गर्दै जान सक्षम् हुनेछौं भन्ने कुरामा पनि मा बिश्वस्त छु ।

 समग्र पर्वतलाई दुर्गम देखि सुगम सम्म उत्तिकै महत्व दिदै बराबरी को सिद्दान्त अनुसार दिर्घकालिन बिकाश कार्य गर्नुपर्ने र बिपत्ति हरुमा तत्कालिन आवस्यकता हरुलाई मुल्यांकन गरेर सहयोग गर्नुपर्ने चुनौतीहरु हामि समक्ष छन् । हाम्रो कुशल नेतृत्वले सेवाक्षेत्रको निर्धारण बिबादरहित रुपमा निर्धारण गरिरको छ त्यो अर्को सह्रानीय बिषय हो । हामीले समग्र पर्वतलाई कसरि समुन्नत बनाउने भन्ने दुरगामी दृष्टिकोण भएको नेतृत्व चयन गरेका छौं यो नेतृत्वले समाजलाई फरक किसिमले माथि उठ्न प्रेरित गर्नेछ भन्नेकुरामा पनि म बिश्वस्त छु ।

 अन्त्यमा प्रवासमा छरिएर रहनुभएका तमाम दाजुभाई दिदीबहिनीहरुमा एकपटक फेरी म अभिवादन टक्र्याउन चाहान्छु । यता तपाइहरुले मेहनत गरेर पसिना बगाईरहनुभएको छ र त उता देशका कर्णधारहरु निर्धक्क बिद्यालय जान पाइरहेका छन् । यता तपाहरु अहोरात्र खट्नुभएको छ र त उता हिजो देशको अभिभारा आफ्नो काँधमा उठाउनुभएका बृद्द बाबा आमाले ओखातिमुलो गराउन पाउनुभएको छ । यता हजुर हरुले ईमान्दार भएर धन आर्जन गरिरहनुभएको छ र त उता हाम्रो देश धानिएको छ । देश धान्ने जिम्मेवारी आफ्नो काँधमा बोक्नुभएका तमाम परिश्रमी हातहरु कहिल्यै बिमारी नपरुन भन्दै म सुस्वास्थ्यको कामना पनि गर्न चाहान्छु ।

यति भन्दै मेरा दुई शब्द यहि टुंग्याउन चाहान्छु – नमस्कार जयनेपाल





Wednesday, February 20, 2019

पर्वतको बिकासका लागि यूएईको भेला अवसर : भुर्तेल

February 20, 2019 0

अन्तराष्टिय पर्वत समाजले फेब्रवरी २८ गतेदेखी मार्च १ गतेसम्म दुवईमा बृहत भेलाको आयोजना गरेको छ । आजको आबस्यकता ,प्रबासी प्रबतेलीहरुको एकता र समुन्नत समाज ,सम्वृद्धि पर्बत निर्माण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरेको कार्यक्रममा संसारभरि छरिएर रहेका पर्वतेहरुको उपस्थिती हुने छन् । कार्यक्रममा पर्वतवाट निर्वाचित जनप्रतिनिधी,विभिन्न क्षेत्रमा क्रियाशिल एवम् बौद्धिक व्यक्तिहरुको सहभागिता रहने छन् । कार्यक्रमको विषयमा हामीले अन्तराष्ट्रिय पर्वत समाजका सचिव मणि भुर्तेल सँग हामीले कुराकानी गरेका छौँ ।  

यहाँहरुले दुवईमा आयोजना गर्न लागेको कार्यक्रमको विषयमा बताईदिनुहोस् न ?

धन्यवाद भाई, हामीले फेब्रवरी २८ गतेदेखी मार्च १ गतेसम्म दुवईमा बृहत भेलाको आयोजना गरेका छौँ । आजको आबस्यकता ,प्रबासी पर्वतेलीहरुको एकता र समुन्नत समाज ,सम्वृद्धि पर्बत निर्माण हाम्रो अभियान’ भन्ने मुलनाराका साथ कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा समृद्ध पर्बत निर्माण अभियानमा प्रवासी पर्वतेहरुको भूमिका, नेपाल सरकार र स्थानिय सरकारको दायित्व एब कर्तब्य माथि छलफल हुनेछ ।कार्यक्रममा विश्वभरि छरिएर रहेका पर्बतेलीको अवस्था, मध्यपूर्वमा रहेका पर्वतेली वा नेपालीहरुको समस्या र निराकरण पहलमा नेपाल सरकार एवम् मानवियता अनुसार सस्थाको भूमिका, सस्थाले एक बर्षमा गरेका कामको समिक्षा,सस्थाले आगामी बर्षका लागि गर्ने कार्यको कार्य तर्जुमा, वैदेशिक रोजगारमा रहेका पर्वतेका लागि  सामाजिक सुरक्षा कोष स्थापना गर्ने, स्वास्थ्य शिक्षा कृषि एवम् पर्यटन  मा सामुहिक लगानी र अवसर, महिला कामदारको श्रमस्वीकृती तथा पुन श्रम स्वीकृती अल्झन नराख्न नेपाल सरकार सँग पहल गर्ने, पर्बत जिल्लाभरि मेडिकल इन्स्योरेन्सको ब्यबस्था गर्न पहल गर्ने र  सेप्टेम्वर वा अक्टोवरमा नेपाल हुन गैरहेको विश्व सम्मेलनको तयारीको विषयमा छलफल गरिने छ ।

कार्यक्रमको मुख्य उद्देश्यले के हो ?

कार्यक्रमको मुख्य उद्देश्य नै छलफलको विषयले प्रष्ट पारेको छ । हामी प्रदेशमा रहेका पर्वतेले यो अभियानलाई सार्थकता तुल्याउन नेपाल सरकार, स्थानीय सरकारको भूमिकामा निर्भर रहन्छ । सोही अनुसार हामीले स्थानीय सरकारका प्रतिनिधी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधी, सामजिक अभियान्त सहितका व्यक्तिलाई छलफलमा डाँकेका छौँ । कार्यक्रममा हामी घोषणपत्र जाहेर गर्ने छौँ  र कार्यान्वयनका लागि सवै व्यक्तिसँग सहकार्य गरेर अगाडी बढ्ने छौँ ।

पर्वत जिल्लाको विकासमा यो कार्यक्रमले के फाईदा पुग्छ ?

कार्यक्रमले पर्वत जिल्लाको विकासमा धेरै फाईदा पुग्ने विश्वास लिएका छौँ । बुज्नेलाई श्रृखण्ड न बुज्नेलाइ खुर्पाको बिड’ भने झैँ यो अभियानलाई सार्थकता बनाउन स्थानिय सरकार लाग्यो भने धेरै फाइदा छ । दुबई ,कतार ,मलेसिया देश बनाउन सक्ने नेपालीले पर्वत जिल्लालाई समृद्धि बनाउन सक्छन भन्नेमा दुइ मत छैन । जसरि प्रदेशी पर्बतेलीले जिल्लाको विकासमा इच्छाशक्ति देखाएका छन् त्यसरी नै नेपाल सरकार  र स्थानिय सरकारले इच्छाको देखाए भने, यो कार्यक्रमले पर्वत जिल्लाको विकास र समृद्धिमा निकै महत्वपुर्ण भूमिका खेल्ने छ ।

कार्यक्रममा दुबईमा रहेका पर्वते युवाहरुको कत्तिको सहभागी हुन्छन् ?

हामी कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गराउन निकै कसरत गरेका छौँ । साथीहरु प्नि खट्नु भएको छ । कार्यक्रमलाई भव्य बनाउन सहभागिताको निकै आवश्यकता पर्छ । त्यसका लागि हामीले कार्यक्रममा धेरै भन्दा धेरै पर्वतेहरुलाई उतार्ने कोशिस गरेका छौँ । यूएईमा सात प्रान्त छन् । यो कार्यक्रम नेपालीको हव भएको ठाउँ दुवई सहरमा हुँदै छ । हामीले सामजिक सञ्जाल, पत्रचार एवम् टेलिफोन मार्फत सवै गाउँपालिका जनप्रतिनिधीहरलाई खवर गरेका छौँ । आशा छ । कार्यक्रममा धेरै पर्वतेहरको उपस्थिती हुने छ । म यसै अन्तरवार्ता मार्फत पनि दुवईमा रहेका पर्वते युवा लगायत अन्य व्यक्तिहरुलाई निमन्त्रणा गर्न चाहान्छु ।

कार्यक्रममा राष्ट्रियस्तरका कलाकार लगायत थुपै अतिथि बोलाउनु भएको छ खर्च कसरी ब्यवस्थापन गर्नुहुन्छ ?

सवैभन्दा पहिले हरेक काममा इच्छाशक्ति अनिवार्य छ । हामीले पनि इच्छाशत्ति जागेकै कारण कार्यक्रमको आयोजना गरेका हुँ । हामीले हाम्रा पर्वते कलाकारलाई अन्तराष्ट्रिय बजार क्षेत्रमा ल्याउन लागेका छौँ । पर्वत जिल्लाको समृद्धिमा उहाँहरुको पनि भूमिका छ । कलाकार खुशी भएर आउँदै हुनुहुन्छ । कार्यक्रममा राष्ट्रियस्तरमा ख्यातीप्राप्त गायक बिमलराज क्षेत्री, कुलेन्द्र वि.क, कृष्ण समिप सुबेदी र उदयमान कलाकार सुस्मा लोहनी आउदै हुनुहुन्छ  । त्यस्तै अन्तरास्ट्रिय पर्बत समाजका सदस्य सस्था ९ र प्रतिनिधि सस्था १४ गरि २३ देशका पवतेहरुको कार्यक्रममा उपस्थिती रहने छ । संस्थाका केन्द्रिय संरक्षक ,सल्लाहकार र केन्द्रिय समितिको बोडी उपस्थिति रहने छ । त्यस्तै नेपालबाट जनप्रतिनिधी, व्यवसायी, पत्रकार लगायत पञ्चासे परियोजनाको टिम समेत आउने भएको छ । अतिथी पाहुनाहरुको भिसा प्रक्रिया सबै सकिएको छ । अब टिकटको प्रक्रिया बाँकि छ । बस्नको लागि हामीले होटलको ब्यबस्था गरिसकेका छौँ ।  हाम्रो सम्पुर्ण टिम अतिथीहरुको स्वागत सत्कारका लागि आतुर छौँ । हाम्रो कार्यक्रमले पर्वतको समृद्धि र विकासको अभियानमा इट्टा थप्ने छ, हामी विश्वास्त छौँ ।

अन्तराष्ट्रिय पर्वत समाजका आगमी कार्ययोजना के के छन् ??

यो विशुद्ध सामजिक संस्था हो । यो संस्थाका स्थापना गर्नुको मुख्य उद्देश्य नै पर्वतको समृद्धि र विकासमा टेवा पु¥याउने हो । हामीले च्यारीटि सो मार्फत संकलन गरेको रकमवाट पर्वत जिल्लामा प्रसुति  गृह बनाउने निर्णय गरेका छौँ । दुवईको कार्यक्रमवाट कुन गाउँपालिकामा निर्माण गर्ने भन्ने टुंगो लाग्ने छ । त्यस्तै हामीले जलजला गाउँपालिकाका पहिरो पीडितलाई भवन बनाउँदै छौँ । लगायत अन्तराष्ट्रिय पर्वत समाजले जिल्लाको विकासमा धेरै काम गर्ने लक्ष्य लिएको छ ।